• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

कलकतामा पोखराको पर्यटन प्रवद्र्धन गरिँदै

पोखरा, २८ जेठ

भारतीय सहर कलकतामा पर्यटकीय राजधानी पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखरा र कलकताका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिने भएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको आयोजनामा बिहीबारदेखि सुरु हुने पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत आगामी शनिबार कलकतामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

कार्यक्रममा ‘नाट्टा’ गण्डकीमा आबद्ध पर्यटन व्यवसायीसहित कलकताका पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक सञ्जालका ‘सेलिब्रेटी’लगायतको सहभागिता रहने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरासहित समग्र नेपालको पर्यटन गतिविधि समेटिएको वृत्तचित्र, प्रवद्र्धनात्मक सामग्री प्रदर्शन एवं वितरण गरिने उहाँले बताउनुभयो । सहभागीहरुले त्यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यस्थलको अवलोकन भ्रमणसमेत गर्नेछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा हवाई उडान सञ्चालनका विषयमा व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफल तथा अन्तरक्रिया गरिने भएको छ ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले झण्डै १० करोड जनसंख्या रहेको पश्चिम बङ्गालका बासिन्दालाई लक्षित गरेर कलकतामा पोखराको पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउनुभयो । “पछिल्लो समय पोखरासहित नेपालका विभिन्न गन्तव्यस्थलमा भारतीय पर्यटकको आवागमन बढेको छ”, उहाँले भन्नुभयो, “बिटुबी कार्यक्रमले नेपालमा भारतीय पर्यटकको संख्यालाई थप वृद्धि गर्न मद्दत पुग्नेछ ।”

‘बिटुबी’ एवं ‘सेल्स मिसन’मा पोखराका पर्यटन व्यवसायीले आकर्षक ‘प्याकेज’सहितको भ्रमण योजना प्रस्तुत गर्ने जनाइएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशका २२ जना पर्यटन व्यवसायीहरु सहभागी हुनेछन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार रहेको बताउनुभयो । दुई देशका पर्यटन व्यवसायीहरुबीच हुने व्यवसायिक साझेदारी एवं प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटन आगमनमा वृद्धि हुने उहाँको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली, कलकता जस्ता ठूला सहरमा हवाई उडान सेवा सञ्चालन गर्न सके गण्डकी प्रदेशको पर्यटनले नयाँ फड्को मार्ने प्रमुख लामिछानेले बताउनुभयो । कलकतामा हुने कार्यक्रमका लागि पर्यटन बोर्डले प्राविधिक सहयोग गरेको छ ।

नाट्टा गण्डकीले यसअघि भारतको पटना, बाराणासी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पोखराको पर्यटन प्रवद्र्धनसँगै ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिसकेको छ । प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका गन्तव्यस्थलको पहिचान गरी तिनलाई देशविदेशका पर्यटन बजारमा चिनाउन नाट्टा सक्रिय रहँदै आएको छ ।