बागलुङ, २८ जेठ
सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा योजना तर्जुमा तथा वित्तीय विश्लेषणसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।
आगामी आर्थिक वर्षको योजना निर्माण, लक्ष्य निर्धारण तथा संस्थाको वित्तीय अवस्थाको समीक्षा गर्ने उद्देश्यले आयोजित तालिममा संस्थाका सञ्चालक, सल्लाहकार, विभिन्न सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमितिका पदाधिकारी, विभागीय प्रमुख तथा २५ सेवा केन्द्रअन्तर्गतका सातवटा इलाका कार्यालयका प्रतिनिधि कर्मचारीहरूको सहभागिता रहेको थियो।
सेवा केन्द्र प्रमुखहरूको सहभागितामा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा संस्थाको वर्तमान वित्तीय अवस्था, व्यवसायिक प्रगति तथा सदस्य सेवासम्बन्धी गतिविधिहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै शेयर सदस्यता वृद्धि, बचत संकलन, ऋण लगानी विस्तार, डिजिटल सेवाको प्रवर्द्धन तथा प्रयोग वृद्धि लगायतका विषयमा छलफल गरी आगामी वर्षका लागि लक्ष्य निर्धारण गरिएको छ।
तालिमका क्रममा संस्थाको शुद्धीकरण तथा सुदृढीकरण, सदस्य व्यवस्थापन र सदस्य शुद्धीकरण, वित्तीय संरचनाको स्तरोन्नति, ऋण लगानीको व्यवस्थापन, भाखा नाघेको ऋण असुलीमा सुधार, सञ्चित नोक्सानी न्यूनीकरण, वित्तीय सक्षमता अभिवृद्धि, सदस्यसँग दिगो सम्बन्ध कायम गर्ने तथा नियामकीय मापदण्डअनुसार संस्था सञ्चालन गर्ने विषयलाई वार्षिक योजना तथा बजेटका प्रमुख उद्देश्यका रूपमा समेटिएको छ।
संस्थाले सञ्चालन गरिरहेको मोबाइल बैंकिङ, एटीएम सेवा, क्यूआर भुक्तानी प्रणाली लगायतका डिजिटल सेवाको पहुँच र प्रयोगकर्ता संख्या वृद्धि गर्ने रणनीतिका विषयमा सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए। साथै निष्क्रिय सदस्यलाई सक्रिय बनाउने, नयाँ सदस्य विस्तार गर्ने, वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउने तथा सदस्य केन्द्रित सेवाहरूलाई थप सुदृढ गर्ने विषयमा समेत कार्ययोजना तयार गरिएको छ।
कार्यक्रममा आगामी आर्थिक वर्षका लागि प्रत्येक इलाका कार्यालय तथा सेवा केन्द्रको लक्ष्य निर्धारण गरिएको छ। संस्थाको दिगो विकास, व्यवसाय विस्तार, प्रविधिमैत्री सेवा प्रवाह तथा सदस्य सन्तुष्टि अभिवृद्धिलाई केन्द्रमा राखी कार्यान्वयनयोग्य योजना तयार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताउनुभयो।
उहाँले सहकारी क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन संस्थाहरूले स्पष्ट योजना बनाएर काम गर्नुपर्ने तथा त्यसका लागि यथार्थपरक लक्ष्य निर्धारण आवश्यक रहेको बताउनुभयो।
दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण सहकारी विज्ञ केशव पोखरेलले गर्नुभएको थियो। उहाँले सहकारी संस्था कारोबारको आकारका आधारमा मात्र नभई योजना, कार्यक्रम, सुशासन र सदस्य सेवाको गुणस्तरका आधारमा प्रभावकारी बन्नुपर्नेमा जोड दिनुभयो। प्रत्येक वर्षका लागि स्पष्ट लक्ष्य, कार्ययोजना र बजेट निर्धारण गरी संस्थालाई व्यवस्थित ढंगले अगाडि लैजान सकिने उहाँको भनाइ थियो।
तालिमले संस्थाको वित्तीय सुदृढीकरण, व्यवसाय विस्तार तथा सदस्यमुखी सेवाको गुणस्तर अभिवृद्धिका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
