बागलुङ, २७ जेठ
जिल्लाको गलकोट नगरपालिका, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी असार १ गतेदेखि ७ गतेसम्म पालिकाका सबै खोपकेन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क खोप प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
दादुराको सङ्क्रमण नियन्त्रण तथा सम्भावित महामारी रोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए ।उनका अनुसार दादुरा अत्यन्त संक्रामक भाइरल रोग भएकाले यसको संक्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ। खोप नजिकका स्वास्थ्य संस्था तथा तोकिएका खोप केन्द्रमार्फत उपलब्ध गराइने उनको भनाइ छ ।
केही महिनाअघि जिल्लाको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा दादुराको संक्रमण देखिएपछि नियन्त्रणका लागि विशेष खोप अभियान सञ्चालन गरिएको थियो । नजिकका पालिकामा पनि दादुराको संक्रमण देखिन सक्ने भन्दै पूर्वरोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप नै दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको स्वास्थ्यकर्मी बताउँछन् ।
खोप अभियानले दादुराबाट हुने जटिलता तथा मृत्युको जोखिम घटाउनुका साथै समुदायमा संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ । अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप केन्द्रमा ल्याई खोप लगाउन कार्यालयले अनुरोध गरेको छ । साथै ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्न तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।