बागलुङ, २३ जेठ
बागलुङको ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन मध्यतारा जलविद्युत् आयोजनामा काम गर्ने मजदुरको फलामको पाइपले च्यापिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार बिहान करिब ११ बजे आयोजनास्थलमा जेसीबीको सहायताले फलामको पाइप उचाल्ने क्रममा बाँधिएको तार चुँडिँदा पाइपले च्यापिएर २० वर्षीय दिल विकको मृत्यु भएको हो ।
पाइपले च्यापिएर गम्भीर घाइते भएका रोल्पाको सुनछहरी गाउँपालिका–३ का विकलाई उपचारका लागि गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी पोलिक्लिनिक अस्पताल ल्याइएको थियो।
अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार लु १ क ३४८३ नम्बरको जेसीबी चालक दाङको बबई गाउँपालिका–२ निवासी ३२ वर्षीय मानबहादुर परियारले चलाइरहेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ताराखोलाबाट प्रहरी नायब निरीक्षक प्रमोद नेपालीको नेतृत्वमा तीन जना तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षक डम्बरबहादुर बोहराको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।