बागलुङ, २० जेठ
स्वस्थ जीवनका लागि उचित आहार, नियमित विहार, सकारात्मक विचार र अनुशासित आचरण आवश्यक पर्ने बागलुङमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङका क्रियाशील सञ्चारकर्मीहरूका लागि आयोजित स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रममा धौलागिरी आयुर्वेद अस्पतालका डा. अभिषेक बगालेले सन्तुलित खानपान, नियमित शारीरिक गतिविधि र सकारात्मक सोच नै स्वस्थ जीवनको सूत्र भएको बताएका हुन्। कार्यक्रममा उनले दैनिक जीवनशैली, आहार व्यवस्थापन तथा योगको महत्वबारे जानकारी गराएका थिए।
त्यसैगरी धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले पोखरा र काठमाडौंमा उपलब्ध विशिष्टीकृत स्वास्थ्य सेवा अहिले बागलुङबाटै प्रदान भइरहेको बताए। अस्पतालले उपलब्ध गराउँदै आएका सेवाबारे जानकारी दिँदै उनले स्त्री तथा प्रसूति सेवा, सर्पदंशका बिरामीको उपचार तथा एनआईसीयू सेवामा उल्लेखनीय काम भइरहेको बताए। अस्पतालमा सिटी स्क्यानदेखि दूरबिन प्रविधिबाट शल्यक्रियासम्मका सेवा सञ्चालन भइरहेको उनको भनाइ थियो।
बुर्तिवाङ अस्पतालका प्रमुख डा।अभिनाष पोखरेलले ढोरपाटन क्षेत्रमा देखिएको दादुरा संक्रमण, यसको पहिचान तथा उपचार प्रक्रियाबारे जानकारी दिएका थिए। उनका अनुसार ढोरपाटन नगरपालिका मा २३२, निसिखोला गाउँपालिका मा ९, बडिगाड गाउँपालिका मा ३ र तमानखोला गाउँपालिका मा २ जनामा दादुरा संक्रमण पुष्टि भएको थियो । पछिल्लो १० दिनयता दादुरासम्बन्धी कुनै नयाँ बिरामी अस्पतालमा नआएकाले संक्रमण नियन्त्रणमा आएको हुन सक्ने उनले बताए।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख डा रमेशकुमार केसीले स्वस्थ जीवनशैली, नसर्ने रोग तथा तिनको रोकथामका उपायबारे प्रशिक्षण दिएका थिए। बागलुङका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल गरिएको थियो।