• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ

बागलुङ, २० जेठ

बागलुङको जैमिनी नगरपालिका–१० राङखानीस्थित हाँडीकोटमा लमजुङका देउबहादुर सार्कीको हत्या गरिएको आरोपमा उनकी श्रीमती लक्ष्मी नेपाली, कास्कीका रामआकाश विश्वकर्मा र आसपुरे कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार ढुंगा प्रहार गरेर हत्या गरी फरार रहेका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो । घटनाका अभियुक्तहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

सोमबार साँझको समयमा हाँडीकोटको प्रतिक्षालयमा देउकुमार मृत अवस्थामा फेला परेका थिए । श्रीमतीसहित मिलेर ढुंगा प्रहार गरी सार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।