बागलुङ, १९ जेठ
बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालमैत्री स्थानीय शासनयुक्तसँगै जैमिनीलाई बालश्रममुक्त, बालविबाहमुक्त र सडक बालबालिकामुक्त नगरपालिका घोषणा गरे ।
नगरपालिकाको केन्द्र कुश्मीसेरामा आयोजित विशेष समारोहमा मुख्यमन्त्री पाण्डेसहित गण्डकी प्रदेशसभाका सदस्य, जनप्रतिनिधिलगायतले बालमैत्री स्थानीय शासनको दिगोपना, प्रभावकारी कार्यान्वयन र निरन्तरताका लागि सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट जैमिनी नगरपालिकालाई कदरपत्र हस्तान्तरण गरेका थिए । जैमिनीसँगै गण्डकी प्रदेशमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएका स्थानीय तहको संख्या पाँच पुगेको छ ।
विसं २०७५ मा नवपुरको देवचुली नगरपालिकालाई प्रदेशकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएकामा त्यसयता स्याङ्जाको भीरकोट नगरपालिका, बागलुङको गलकोट नगरपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासन ः राष्ट्रिय रणनीति, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ मा विभिन्न ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर थापाले बताए ।
उक्त घोषणाको दिगोपना, प्रभावकारी कार्यान्वयन र निरन्तरताका लागि सबै पक्ष जिम्मेवार र जवाफदेही बन्नुपर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सरकारले विसं २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएकामा गण्डकीका पाँचसहित देशभर गरी हालसम्म जम्मा ३० स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको बालमैत्री–पोषणमैत्री अभियानका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले बताए ।
बालमैत्री स्थानीय शासनका लागि विभिन्न १९ वटा सेवाप्रदायकहरुको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहने उहाँको भनाइ छ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाका लागि बाल बचाउमा १४ वटा, बाल संरक्षणमा १० वटा, बाल विकास र बाल सहभागितामा छ÷छ गरी सेवा प्रवाह सम्बन्धि ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक पूरा हुनुपर्ने प्रावधान छ ।
बालमैत्री स्थानीय शासनले बालबालिकाको सुरक्षित भई बाँच्न पाउने हक, बालबालिकाहरुको संरक्षण सम्बन्धि हक, बालबालिकाको विकास सम्बन्धि हकको प्रवद्र्धन, बालबालिकाको लागि आधारभूत सेवा प्रवाह र योजना तर्जुमा सम्बन्धि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितालाई समेटेको छ ।
बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकारगाउँपालिका घोषणा गर्ने गरिएको छ ।
जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा कार्यक्रममा शैक्षिक प्रदर्शनी, प्रतिभा पहिचान, सांस्कृतिक झाँकी, विद्यार्थीको मार्चपास÷नृत्यलगायत प्रस्तुति राखिएको थियो । समारोहमा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा, कृष्णप्रसाद पाठक, डिल्लीराम सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापालगायतले मन्तव्य राखेका थिए ।
