बागलुङ, १८ जेठ
पोखरास्थित हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोषले यस वर्षको ‘हरिदेवी कोइराला साहित्य सम्मान’ साहित्यकार काजी रोशनलाई प्रदान गर्ने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङका अध्यक्षसमेत रहनुभएका रोशनलाई यही जेठ २३ गते शनिबार पोखरामा आयोजना हुने विशेष समारोहमा नगद रु. २५ हजारसहित उक्त सम्मान अर्पण गरिने कोषले जनाएको छ ।
साहित्यकार लक्ष्मण थापा संयोजक तथा कृष्णप्रसाद पौडेल र संरक्षक रामबहादुर कोइराला सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसका आधारमा साहित्यकार रोशनलाई सम्मान प्रदान गर्ने निर्णय गरिएको कोषका सचिव पदमराज ढकालले जानकारी दिनुभयो । सोही समारोहमा साहित्यकार एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ लोकार्पण गरिने कोषले जनाएको छ ।
सम्मानित हुन लाग्नुभएका साहित्यकार रोशन बागलुङमा रहेर साहित्य सेवामा सक्रिय हुनुहुन्छ । कविता, नियात्रालगायत विभिन्न विधामा उहाँका कृतिहरु प्रकाशित छन् । साहित्यिक अभियानमा पनि उत्तिकै क्रियाशील रोशनले प्रबल जनसेवाश्रीलगायत विभिन्न पदक, सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।