• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

आवश्यकता र औचित्यका आधारमा संविधोन संशोधन गर्नुपर्नेमा जोड

बागलुङ, १७ जेठ

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा, बागलुङद्वारा बुधबार सदरमुकाममा आयोजित ‘वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका पूर्वसचिव कृष्ण अधिकारीले संविधान गतिशील राजनीतिक दस्तावेज रहेको यसलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधनका मुद्दा पहिचान गर्न र संविधान संशोधनको प्रकृयालाई अगाडि बढाउन राष्ट्रिय सहमित जुटाउनुपर्ने बताउनुभयो । बृहत् छलफल र प्रजातान्त्रिक प्रकृयाबाट संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।

“संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रकृया हो”, उहाँले भन्नुभयो, “संविधान संशोधनको उठान र अवतरण सही ढङ्गबाट हुन जरुरी छ ।” मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले गणतन्त्र, सङ्घीयता जस्ता राजनीतिक उपलब्धीलाई थप बलियो र सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका थिए । संविधान संशोधन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने उनीहरुको भनाइ थियो । मुलुक र जनताको आकङ्क्षा पूरा हुने गरी समयसोपक्ष रुपमा संविधानलाई परिमार्जन गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा नेकपा (एमाले)का नेता गणेश थापा, नेपाली कम्युनिष्ट पार्टीका नेता राजीव घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका नेता टेकबहादुर केसी ‘आजाद’, नेपाल बार एशोसिएसन उच्च अदालत बार एकाइका अध्यक्ष गीता श्रीस, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, धवलागिरि बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भक्तिराम न्यौपाने, नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापालगायतले भनाइ राखेका थिए । कार्यक्रम राजमो बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता र सचिव भिमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।