बागलुङ, १४ जेठ ।
सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही जेठ १५ र १६ गते बागलुङमा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका सचिव किशोर थापाले जानकारी दिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट झण्डै एक हजार खेलाडी सहभागी हुनेछन् भने करिब दुई सय अफिसियलको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, भलिबल र कबड्डी गरी छ वटा विधामा महिला तथा पुरुषतर्फ प्रतिस्पर्धा हुनेछ । पालिका हुँदै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने सचिव थापाले बताए ।
उनका अनुसार प्रत्येक जिल्लाबाट करिब एक सय खेलाडी सहभागी हुनेछन् । अधिकांश खेल बागलुङ नगरपालिकाभित्र सञ्चालन हुनेछन् भने कराते प्रतियोगिता काठेखोला गाउँपालिकास्थित बिहुँकोट खेलकुद विकास मञ्चको कभर्डहलमा आयोजना गरिनेछ ।
प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगिता आलोपालो रूपमा विभिन्न जिल्लामा आयोजना गर्ने गरिएको छ । पन्ध्रौँ संस्करण गोरखामा तथा चौधौँ संस्करण नवलपुरमा सम्पन्न भएको थियो । सत्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने जिल्लाको घोषणा भने सोह्रौँ संस्करणको समापन समारोहमा गरिने जनाइएको छ ।
