• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

कालिका मन्दिरको पार्किङ शुल्कबाट सामुदायिक विद्यालयलाई सहयोग

बागलुङ, १३ जेठ

कालिका भगवती गुठी व्यवस्थापन समिति ले पार्किङ शुल्कबाट संकलित रकमलाई शिक्षा क्षेत्रमा लगानी गर्दै विभिन्न सामुदायिक विद्यालयलाई सहयोग गर्न थालेको छ । समितिले पदभार ग्रहण गरेपछि माघ महिनादेखि वैशाख सम्म संकलित रकममध्येबाट दोस्रो चरणमा बुधबार रामरेखा आधारभूत विद्यालय लाई दुई लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ सहयोग गरेको हो ।

आवश्यकताका आधारमा सामुदायिक विद्यालयहरूमा क्रमशः ‘कालिका भगवती गुठी अक्षयकोष’ स्थापना गरी उक्त कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समितिका अध्यक्ष भुपेन्द्र खड्का ले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिर्जना पौडेल ले विद्यालयमा १ सय ३० जना विद्यार्थी अध्ययनरत रहेको र अधिकांश विद्यार्थी निम्न आय भएका परिवारबाट भएकाले सहयोगको आवश्यकता रहेको बताइन् । उनले आगामी दिनमा पनि सहयोग निरन्तरताका लागि अपिल गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसी ले विद्यार्थीहरूको पोशाक, खाजा, झोला, यातायात लगायतका आवश्यकता पूरा गर्न विद्यालयले विभिन्न निकायको सहयोगबाट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै कालिका गुठीको सहयोग विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण रहेको बताए ।

समितिका अनुसार पार्किङ व्यवस्थापनमा खटिएका कर्मचारीहरूको खर्च कटाएर २०८२ माघदेखि २०८३ वैशाखसम्म चार लाख रुपैयाँ संकलन भएको थियो । यसअघि बालमन्दिर आधारभूत विद्यालय मा पनि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकिएको छ । आवश्यकता अनुसार आगामी दिनमा अन्य सामुदायिक विद्यालयहरूमा पनि यस्ता अक्षयकोष स्थापना गर्दै जाने योजना समितिले जनाएको छ ।

हाल पार्किङ शुल्क स्वेच्छिक राखिएको भए पनि सामान्यतया मोटरसाइकलबाट २० रुपैयाँ र गाडीबाट ५० रुपैयाँ संकलन गरिँदै आएको समितिका सदस्य ध्रुव खड्का ले बताए । आर्थिक अवस्था कमजोर भए पनि अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई यस्तो अक्षयकोषले महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।