बागलुङ, १३ जेठ
बागलुङमा दुई दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस – २०८३ मनाइने भएको छ ।
जिल्ला समन्वय समितिको संयोजनमा बागलुङ नगरपालिका, जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा दिवस मनाउन लागिएको हो ।
गणतन्त्र दिवस मूल समारोह समितिका अनुसार यही जेठ १४ र १५ गते सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । साथै राष्ट्रिय झण्डा फहराउने, दीप प्रज्वलन गर्ने तथा घरघरमा झण्डा राख्न आग्रह गरिएको छ ।
पत्रकार महासंघको समन्वयमा गणतन्त्र दिवसको महत्वबारे सञ्चार माध्यममार्फत प्रचारप्रसार गरिनेछ भने सुरक्षा निकायको संयोजनमा कालिका मन्दिर परिसरमा सामूहिक सरसफाइ कार्यक्रम पनि आयोजना गरिने भएको छ ।
यस्तै नेपाल रेडक्रस सोसाइटी, धौलागिरि प्रादेशिक अस्पताल र बागलुङ नगरपालिकाको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ । फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
जेठ १५ गते बिहान सहिद पार्कमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सहिद परिवारलाई सम्मान गरिने कार्यक्रम राखिएको छ । सोही दिन साँझ जिल्लाभर दीप प्रज्वलन कार्यक्रम गरिने निर्णय गरिएको छ ।
