बागलुङ, १२ जेठ
काठेखोला गाउँपालिकाको बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित ४३औँ वार्षिकोत्सव तथा रथयात्रा महोत्सव श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ सोमबार सम्पन्न भएको छ।
महोत्सवमा विभिन्न क्षेत्रका पञ्चेबाजा समूहहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने स्थानीय लोकभजन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरूले मन्दिर परिसरलाई आध्यात्मिक वातावरणले भरिएको थियो। मन्दिर प्राङ्गण श्रद्धालु भक्तजनहरूले भरिभराउ बनेको दृश्यले महोत्सवलाई थप भव्य बनाएको थियो।
विशेषगरी काठेखोला गाउँपालिकाका विभिन्न क्षेत्रबाट श्रद्धालु तथा तीर्थालुहरू ठूलो संख्यामा सहभागी भएका थिए।
महोत्सवअन्तर्गत भगवान शिवको मूर्ति स्थापना गरिएको रथलाई बिहुँ मन्दिर परिसरबाट बिहुँको बुढी देउराली हुँदै शान्तिचोक शिवालय पदमार्ग मार्फत बिहुँ हटियासम्म पुर्याई पुनः मन्दिर परिसरमा ल्याएर स्थापना गर्ने परम्परा अनुसार रथयात्रा सम्पन्न गरिएको थियो।
स्थानीय धार्मिक मान्यता अनुसार उक्त दिन खेतबारीमा काम गर्न, खेतीपाती लगाउन वा जमिन खन्न नहुने परम्परा रहिआएको स्थानीयवासी बताउँछन्। यो परम्परा राष्ट्रशान्त स्वामी परमानन्द सरस्वतीले स्थापना गरेर छोड्नुभएको धार्मिक नियमभित्र पर्ने विश्वास गरिन्छ। त्यस दिन कुनै पनि किसिमका नियमित कृषि कार्य नगर्ने चलन अहिले पनि कायम रहेको स्थानीयहरूको भनाइ छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वसांसद टङ्कप्रसाद शर्मा कँडेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आजको आवश्यकता भएको बताउनुभयो। उहाँले यस्ता मेला, पर्व तथा धार्मिक कार्यक्रमहरूले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व वडाअध्यक्ष शिव प्रसाद कँडेल , गुठी वन व्यवस्थापन समितिका अध्यक्ष नवीनप्रसाद कँडेल तथा महिला नेत्री ज्ञानकुमारी श्रीष शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। समारोहको सभापतित्व सञ्चालन समितिका उपाध्यक्ष गौरीशङ्कर शर्मा सुवेदीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव हरिप्रसाद कन्डेलले गर्नुभएको थियो।
साथै, मन्दिरको वार्षिक आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष थानेश्वर कँडेलले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले संस्थाले हालसम्म गरेको आर्थिक प्रगति, मन्दिर विकास तथा व्यवस्थापनका लागि भएका गतिविधिहरू र आगामी वर्ष सञ्चालन गरिने योजनाबारे उपस्थित श्रद्धालु तथा भक्तजनहरूलाई जानकारी गराउनुभएको थियो।हिजो मात्रै रसिद मार्फत रु६२४५०र मन्दिर चढाएको भेटि रु २०४५०गरि कुल आम्दानि रु ६२९०० भएको जानकारी गराईएको थियो
सो अवसरमा स्थानीय पत्रकार भरत सोपकोटा र प्रेम श्रीसलाई सम्मानसमेत गरिएको थियो।
श्रद्धालुहरू अत्यन्त भक्तिभावका साथ मन्दिर परिसर पुगेर पूजा–आराधना गर्ने, मनोकामना माग्ने तथा १०८ शिवलिङ्गको परिक्रमा गर्ने गरेका छन्। भक्तजनहरूका अनुसार यहाँ आएर पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले यो क्षेत्र दिनप्रतिदिन महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित हुँदै गएको स्थानीयवासी बताउँछन्।