पोखरा, ११ जेठ
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू भएको छ । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतासहित शून्य समयमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राख्नुभएको छ ।
बैठकमा बोल्दै पूर्वमुख्यमन्त्री एवं नेकपा ९एमाले० संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । टुक्रे बजेटको प्रवृत्तिलाई रोक्नुपर्ने भन्दै परिणाममुखी र गुणस्तरीय काममा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
“देखिने गरी काम गरौँ, पाँचरदस लाखका बजेट नदिऔँ”, नेता अधिकारीले भन्नुभयो । नेपाली कम्यनिष्ट पार्टीको संसदीय दलका नेता हरिबहादुर चुमानले गणतन्त्र, संघीयता जस्ता उपलब्धिको रक्षाका लागि प्रदेशसभाले आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभयो ।
संघीयताको अपरिहार्यता पुष्टि गर्दै यसको रक्षाका लागि प्रदेशसभा र प्रदेश सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता पंचराम गुरूङले प्रदेश सरकारले बजेट बनाउँदा सबै जिल्लाका माग र आवश्यकतालाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने धारणाा राख्नुभयो ।
नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक प्रकाश बरालले प्रदेश सरकारले ऐन, कानुन निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै तिनको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गणेशमान गुरूङ, देवका पहाडी त्रिपाठी, निर्मला थापा, महेश भट्टराईलगायत समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
बर्खे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ ।