• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

पोखरा, ७ वैशाख

पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ । पोखरा महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्ति÷संस्था स्वयंले हटाउन निर्देशन दिएको हो ।

महानगरको प्राविधिक टोलीले नापजाँच गरी पोल गाडिएको क्षेत्रभित्रका सबै संरचना हटाइने भएको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने महानगरले जनाएको छ । यसअघि गत वैशाख ४ गते सार्वजनिक सूचनामार्फत दिनभित्र फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन महानगरले सार्वजनिक रुपमा सूचित गरेको थियो ।

महानगरले विसं २०८० कात्तिक १० गते पनि फिर्केखोलाको खोलाघर क्षेत्रभित्र पर्ने संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । सो सूचना विरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएकामा अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्नु नपर्ने भनी फैसला भइसकेको छ । अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको अघिल्लो सूचनासमेतलाई आधार मान्दै यही जेठ ९ गतेभित्र फिर्केखोला क्षेत्रमा जग्गा अतिक्रमण गरी बनाइएका सबै ंसंरचना हटाउन समयसीमा दिइएको हो ।

महानगरले प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउने भएको छ । यही जेठ ८ गतेभित्र बसपार्कको जग्गामा बसोबास गर्ने सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले विवरण सङ्कलन गरिने भएको हो । महानगरद्वारा बुधबार जारी सूचनामा यसअघि निस्सा पाएका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जेठ ८ गतेसम्म वडा नं. ९ को कार्यालयमा आफ्नो र परिवारको विवरण बुझाउन निर्देशन दिइएको छ ।

नगरपालिकाबाट वितरण भएको निस्साको प्रतिलिपि, घरमुली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमुली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमुली आफैले नाता खुलाएको स्वःघोषणापत्र बुझाउनुपर्ने जनाइएको छ ।

आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन पोखरा–९ पृथ्वीचोकमा विसं २०३१÷०३२ तिर दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणा पर्दै गएर अहिले करिब ६० रोपनी क्षेत्रफल मात्र बाँकी छ । महानगरले गत वैशाख ४ गते ३५ दिनको सूचना जारी गर्दै बसपार्कको जग्गा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको थियो ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । “भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा झण्डै पाँच सय परिवार बसपार्कको जग्गामा घरटहरा बनाएर बस्नुभएको छ, उहाँहरुको वास्तविक अवस्था छानबिन गर्दैछौँ, सुकुम्बासीलाई उचित व्यवस्थापन गछौँ”, उहाँले भन्नुभयो, “बसपार्क बन्नुपर्छ भन्नेमा सर्वपक्षीय र सर्वदलीय सहमति छ, बसपार्कको गुरुयोजना पनि बनिसकेको छ, अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाउँछौँ ।”