• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

पुराना दलले केही गरेनन् भन्ने भाष्य गलत छ – मुख्यमन्त्री पाण्डे

बागलुङ, ७ वैशाख

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुराना राजनीतिक दलले केही गरेनन् भन्ने भाष्य गलत भएको बताएका छन् । बुधबार बागलुङ नगरपालिकाद्वारा आयोजित ‘विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष’ कार्यक्रममा उनले पुराना राजनीतिक दलकै नेतृत्वको सरकारका पालामा मुलुकमा विकासले गति लिएको बताए ।

“गत फागुन २१ गतेको निर्वाचनअघि मुलुकमा केही पनि भएको छैन, पुराना राजनीतिक दलले केही गरेनन् भन्ने भाष्य जबर्जस्त निर्माण गरियो, जुन गलत छ”, मुख्यमन्त्री पाण्डेले भने, “बहुदलपछि मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेको हो, २०५० सालअघिको नेपाल र त्यसयताको नेपालमा धेरै भिन्नता छ ।” मुख्यमन्त्री पाण्डेले विगतका सरकार र राजनीतिक दलले गरेका राम्रा कामबारे जनतालाई बुझाउन नसकिएको स्वीकार गरे । उनले नयाँपुस्तालाई पनि इतिहासबारे पढाउनुपर्ने आवश्यकता औँल्याउए ।

मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार विकास, सामाजिक रुपान्तरण र जीवनस्तर सुधारमा नेपालले प्रगति गर्दै गएको धारणा राखे । उनले रास्वपा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्रीलेसमेत आफ्नो आर्थिक स्वेतपत्रमा मुलुकले हासिल गरेको विकासलाई उल्लेख गरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कुसुम बुढा, कृष्णप्रसाद पाठक, चम्पादेवी खड्कालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा फोटो किताब ‘नमस्ते बागलुङ’ विमोचन गरिएको थियो । सोही समारोहमा बागलुङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरियो । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत ‘डग सेल्टर’को शुभारम्भ गरेका थिए । कार्यक्रममा उत्कृष्ट कर्चचारीलाई पुरस्कृत गरिएको थियो ।