• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

सवारीसाधन कारबाहीबाट एक महिनामै ४४ लाख बढी राजश्व सङ्कलन

पोखरा, ५ वैशाख

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु. ४४ लाख आठ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार दुई सय ६३ वटा सवारीसाधन कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख महिनामा २२ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएको प्रमुख देवकोटाले बताउनुभयो ।

१२ वटा सवारीसाधन दुर्घटना तीब्र गतिका कारण भएको उहाँको भनाइ छ । चालकले सवारी चालक अनुमति पत्र नलिई चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन वटा सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ ।

“मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारीसधान चलाउने, तीब्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक चेकजाँच बढाइएको छ”, प्रहरी निरीक्षक देवकोटाले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारीसाधन चेकजाँच गर्दै आएको छ ।”

सवारी दुर्घटना न्यूनकरणसँगै सवारीसाधन चेकजाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायतका विषयमा नमुना चेकजाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो ।