बागलुङ, ३ जेठ
बागलुङको बडिगाड गाउँपालिका–५ खारमा जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् ।
प्रहरी चौकी ग्वालीचौर बागलुङका अनुसार आज साँझ करिब ५ बजे जङ्गली भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ घर भई हाल खार बजारमा डेरा गरी बस्दै आएकी ७२ वर्षीया फिरमकुमारी घिमिरेको मृत्यु भएको हो । निमोनिया र उच्च रक्तचापकोसमेत समस्या रहेकी घिमिरेले भ्याकुर खाएपछि कोठामै बान्ता गरेको र केहीबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरामी पर्नेहरूमा ५५ वर्षीया दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीया शारदा न्यौपाने, १४ वर्षीय अबिसन घिमिरे, ६३ वर्षीय भोजराज घिमिरे, ४३ वर्षीय सुरेन्द्र विक, ६२ वर्षीया पुतली घिमिरे र ६५ वर्षीय खिमानन्द घिमिरे रहेका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
