• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

कालिका मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ, ३ जेठ

कालिका भगवती गुठी व्यवस्थापन समितिले पार्किङ शुल्कबाट संकलित रकममध्ये पहिलो चरणमा बालमन्दिर आधारभूत विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिले २०८२ माघदेखि २०८३ वैशाखसम्म पार्किङ शुल्कबाट संकलित रकममध्येबाट ‘कालिका भगवती गुठी अक्षयकोष’ स्थापना गरिएको जानकारी दिएको हो । कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताए ।

उनका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक उमाकान्त पौडेलले विद्यालयमा करिब एक सय विद्यार्थी अध्ययनरत रहेको र अधिकांशको आर्थिक अवस्था कमजोर भएकाले अक्षयकोषले उनीहरूको पठनपाठनमा सहयोग पुग्ने बताए । उनले कोषको ब्याज रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।

यसअघिको कार्यसमितिले पार्किङ शुल्कबाट संकलित रकम मानव सेवासम्बन्धी क्षेत्रमा सहयोग गर्दै आएको थियो । गुठीले यसअघि आश्रमलाई एकमुष्ट आर्थिक सहयोग गरिसकेको भन्दै अब शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले नयाँ निर्णय गरिएको अध्यक्ष खड्काले बताए ।

समितिका अनुसार पार्किङ व्यवस्थापनमा खटिएका कर्मचारीहरूको खर्च कटाएर माघ, फागुन, चैत र वैशाख महिनामा गरी चार लाख रुपैयाँ संकलन भएको छ । आवश्यकता अनुसार आगामी दिनमा अन्य सरकारी विद्यालयहरूमा पनि यस्ता अक्षयकोष स्थापना गर्दै जाने योजना रहेको समितिले जनाएको छ ।

हाल पार्किङ शुल्क स्वेच्छिक राखिएको भए पनि सामान्यतया मोटरसाइकलबाट २० रुपैयाँ र गाडीबाट ५० रुपैयाँ संकलन गरिँदै आएको समितिका सदस्य ध्रुव खड्काले बताए । आर्थिक अवस्था कमजोर भए पनि अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई यस्तो अक्षयकोषले महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।