• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

प्रजनन रुग्णता सम्बन्धी अन्तरक्रिया सम्पन्न

बागलुङ, २ जेठ

समयमै पहिचान हुन नसक्दा प्रजननसम्बन्धी स्वास्थ्य समस्या जटिल बन्ने गरेको बताइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा प्रजनन स्वास्थ्य तथा रोग सम्बन्धी मिडियाकर्मी र सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रविण शर्माले प्रजननसम्बन्धी समस्या लुकाउने तथा बेवास्ता गर्ने प्रवृत्तिका कारण समस्या थप जटिल बन्ने गरेको बताए ।

उनले बागलुङका निसीखोला, तमानखोला र ढोरपाटन क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीका कारण प्रजनन स्वास्थ्य समस्या बढ्दै गएको उल्लेख गरे ।

कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक समिता घिमिरेले आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा अब्स्टेट्रिक फिस्टुला सम्बन्धी रोग, तिनका लक्षण, पहिचान र उपचारका विषयमा प्रस्तुतीकरण राखेकी थिइन् ।

उनले प्रजननसम्बन्धी रोग समयमै पहिचान गर्न सके उपचार सहज हुने भन्दै परिवारका महिलाको प्रजनन स्वास्थ्यप्रति पुरुषहरूले पनि चासो दिनुपर्ने बताइन् ।

धौलागिरि प्रादेशिक अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विजय वझाले प्रजननसम्बन्धी धेरै रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क हुने भए पनि सेवाको उपयोग गर्नेको संख्या न्यून रहेको बताए । उनले नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औँल्याउँदै समस्या देखिएपछि मात्र अस्पताल जाने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । “समस्या नहुँदै गरिने नियमित परीक्षणले रोग लागिहाले पनि समयमै उपचार गर्न सहज हुन्छ,” उनले भने ।

डा. वझाले अस्पतालबाट प्रदान भइरहेका प्रजनन स्वास्थ्यसम्बन्धी सेवाबारे पनि जानकारी गराएका थिए । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यम, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताइन् ।

पंत्रकार, स्वास्थयकर्मी, स्वयंसेविका लागाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन कार्यालयका क्षयकुष्ठ रोग निरिक्षक देवप्रकाश घिमिरेको सञ्चालन तथा कार्यालय प्रमुख प्रविण शर्माको समापनमा कार्यक्रम सम्पन्न भएको थियो ।