• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

महान्यायाधिवक्ता कँडेल पत्रकार महासङ्घ बागलङद्वारा सम्मानित

बागलुङ, १ जेठ

महान्यायाधिवक्ता डा नारायणदत्त कँडेललाई नेपाल पत्रकार महासङ्घ, बागलुङले बिहीबार स्वागत तथा सम्मान गरेको छ । पत्रकार महासङ्घ, बागलुङका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेललाई महासङ्घ जिल्ला अध्यक्ष राम थापाले सम्मानपत्र र पूर्वअध्यक्ष रामबहादुर जिसीले पूर्वअध्यक्ष सम्मानपदक प्रदान गर्नुभएको हो ।

पत्रकार महासङ्घको संस्थागत विकाससँगै बागलुङको पत्रकारिताको श्रीवृद्धिमा पु¥याएको योगदानबापत महासङ्घ बागलुङको रजत वर्षको सन्दर्भ पारेर उहाँलाई सम्मानित गरिएको महासङ्घका उपाध्यक्ष सुवास आचार्यले बताउनुभयो । कँडेलले विसं २०५८ देखि विसं २०६० सम्म अध्यक्षका रुपमा पत्रकार महासङ्घ, बागलुङको नेतृत्व सम्हाल्नुभएको थियो ।

सो अवसरमा महान्यायाधिवक्ता कँडेलले बागलुङमा पत्रकार महासङ्घ स्थापना गर्नका लागि आफूले खेलेको भूमिकाको स्मरण गर्नुभयो । उहाँले महासङ्घ कार्यालयमा उपस्थित भएर स्वागत तथा सम्मान ग्रहण गर्न पाउँदा गौरवको महसुस भएको बताउनुभयो । बागलुङको काठेखोला गाउँपालिका–५ का कँडेल पछिल्लो समय वकालत पेशामा सक्रिय रहँदै आउनुभएको थियो ।

गत महिना सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उहाँ महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । पचासको दशकको सुरुदेखि नै पत्रकारितामा लागेपनि कँडेलको पहिलो बाइलाइन समाचार भने विसं २०५३ मा नेपालवाणी साप्ताहिकमा छापिएको थियो । उक्त समाचार बागलुङको विद्यामन्दिर पुस्तकालयको स्वर्ण जयन्तीको थियो ।

कँडेलसँग रेडियो नेपाल, राष्ट्रपुकार, राजधानी दैनिकलगायतमा काम गरेको अनुभव छ । उहाँले बेलायतको क्विन्स विश्वविद्यालयबाट ‘अभिव्यक्ति स्वतन्त्रता’मा विद्यावारिधि गर्नुभएको छ । उहाँले नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट पिस किपिङ अपरेशनमा स्नातकोत्तर गर्नुभएको छ ।

संवैधानिक कानुन, मानवअधिकार, राजनीति र समाजशास्त्रका ज्ञाता मानिनुहुने कँडेलले विसं २०६० देखि वकालत पेशामा सक्रिय रहँदै आउनुभएको छ । विगतमा फ्रिडम फोरम, मानव अधिकार तथा शान्ति समाज, एम्नेष्टी इन्टरनेशनललगायत संस्थामा काम गरेको अनुभव उहाँसँग छ ।