• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

बागलुङमा पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया

बागलुङ, १ जेठ

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै प्राकृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार गर्न सके पर्यटन प्रवर्द्धनसँगै होटल व्यवसायलाई पनि अगाडि बढाउन सकिने सरोकारवालाले बताएका छन् । पृथ्वी होटल व्यवसायी समिति कास्की, पोखरासँगको समन्वयमा होटल व्यवसायी संघ बागलुङले आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले बागलुङ र पोखराबीच परापूर्वकालदेखि नै व्यावसायिक सम्बन्ध रहँदै आएकाले त्यसलाई थप सुदृढ बनाउनुपर्ने बताएका हुन् ।

“पोखरा जाऔँ, प्रकृतिसँग रमाऔँ” भन्ने नारासहित पृथ्वी होटल व्यवसायी समिति कास्कीले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ, बुर्तिवाङ, ढोरपाटन, मुसिकोट र रुकुमकोटसम्म पर्यटन प्रवर्द्धन भ्रमण आयोजना गरेको हो । सोही क्रममा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको समितिका अध्यक्ष मोतिप्रसाद श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले यस्ता भ्रमण कार्यक्रमले दुवै क्षेत्रका पर्यटकीय गन्तव्यबारे जानकारी आदान–प्रदान गर्न सहज हुने तथा पर्यटन व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पोखरा र बागलुङका पर्यटकीय क्षेत्रहरूको संयुक्त सूची तयार गरी साझा योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले होटल तथा पर्यटन व्यवसायलाई समयानुकूल डिजिटल प्रविधिसँग जोड्न र स्थानीय रैथाने बालीको संरक्षण तथा प्रयोगलाई प्राथमिकता दिन आग्रह गरे ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले व्यवसायीबीचको सहकार्यले पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । कार्यक्रममा होटल व्यवसायी महासंघका सचिव निलेश राजभण्डारीले बागलुङका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका उपाध्यक्ष नवीनकुमार श्रेष्ठ, धौलागिरि प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगाएतले भनाइ राखेका थिए । पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोती प्रसाद श्रेष्ठको स्वागत, बागलुङ होटल व्यवसायी संघका उपाध्यक्ष ललिता थापाको धन्यवाद र पृथ्वी होटल व्यवसायी समिति कास्कीका महासचिव शोभाकान्त चापागाईको संचालनमा सम्पन्न भएको थियो ।