• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

दूध बेचेर बागलुङका किसानले कमाए वर्षमा झण्डै नौ करोड

बागलुङ, ३० वैशाख

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले गत आर्थिक वर्षमा १० करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । त्यमध्ये दुग्ध उत्पादक किसानलाई रू। आठ करोड ८४ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको संघले जनाएको छ ।

संघको २६औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष दीपक गौतमले सहकारीले १५ वटा सहकारीमार्फत करिब एक हजार ५ सय किसानको घरबाट दैनिक ३ हजार ५ सय लिटर दूध सङ्कलन गरी बिक्री–वितरण गर्दै आएको बताउनुभयो ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका दूध उत्पादक किसानको समूहबाट २०५८ सालमा स्थापना गरिएको सहकारीले विभिन्न चुनौतीसँग जुध्दै बागलुङमा दूध तथा दुग्धजन्य वस्तुको उत्पादन र बिक्री गर्दै आएको उहाँको भनाइ थियो । उहाँले गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको प्रोत्साहनका लागि पशु बीमा, प्रशोधन सुरक्षा लगायतका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष गौतमले सहकारीलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्यसहित आधुनिक भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको पनि बताउनुभयो । उहाँले बढ्दो महँगीको तुलनामा दूधको मूल्य वृद्धि गर्न नसकिएको उल्लेख गर्दै मूल्य समायोजनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

खुला बजारका कारण बाहिरबाट दूध तथा दुग्धजन्य वस्तु बागलुङ भित्रिए पनि दूध उत्पादनमा बागलुङ आत्मनिर्भर रहेको उहाँले बताउनुभयो । सहकारीले पछिल्लो समय मोही उत्पादन तथा बिक्रीसमेत सुरु गरेको छ । यसको प्रचार–प्रसार र प्रवर्द्धनका लागि स्थापना दिवसको अवसरमा जेठ १ गते समिक्षालय चोकमा निःशुल्क मोही वितरण गरिने जनाएको छ ।

हाल सहकारीले दूध, दही, घ्यू, छुर्पी, पनिर, खुवा, मोही तथा नौनी उत्पादन एवं बिक्री–वितरण गर्दै आएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामबहादुर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा संस्थाका सचिव गोविन्दप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार रामबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।