पोखरा, ३० वैशाख
संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चा, जिल्ला समिति कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा आवश्यकता र औचित्यका आधारमा संविधानलाई परिमार्जन गर्दे लैजानुपर्नेमा जोड दिइएको हो ।
उक्त शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक र जनस्तरमा बहृत् छलफल गरेर मात्र संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
“संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रकृया हो”, उहाँले भन्नुभयो, “संविधान संशोधनको उठान र अवतरण सही ढङ्गबाट हुन जरुरी छ ।” मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गणतन्त्र, सङ्घीयता जस्ता राजनीतिक उपलब्धीलाई थप बलियो र सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । संविधान संशोधन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने उहाँको भनाइ छ ।
“राष्ट्रिय एकता र सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ, राष्ट्र र जनताको बृहत्तर हितलाई केन्द्रमा राख्नुपर्छ”, सभापति शर्माले भन्नुभयो । नागरिक समाजका प्रतिनिधि विष्णु बरालले जडता र यथास्थितिबादी ढङ्गबाट मुलुक र जनताको आकङ्क्षा पूरा नहुने भन्दै समयसोपक्ष रुपमा संविधानलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधान कार्यान्वयनका क्रममा विगतमा राजनीतिक दलहरुबाट देखिएको अक्षमता र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सुधार्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेकपा (एमाले)का नेता राजीव पहारी, नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ बराल, नेपाल कम्युनिष्ट पार्टीका नेतृ सावित्री बुढालगायतले भनाइ राखेका थिए ।