बागलुङ, २६ वैशाख
गण्डकी प्रदेश सरकारले चालु आव २०८२/०८३ मा प्रदेशभित्र सञ्चालनमा रहेका दुई सय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । तीमध्ये एक सय एक अनलाइन सञ्चारमाध्यम रहेका छन् ।
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले लोककल्याणकारी विज्ञापनका लागि सूचीकृत भएका सञ्चारमाध्यमलाई सम्झौताका लागि शुक्रबार सार्वजनिक रुपमा सूचित गरेको छ । आवश्यक कागजातसहित प्रकृया पु¥याएर सूचीकृत भएका टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गरिने प्रेस रजिष्ट्रार बिमला भण्डारीले बताउनुभयो ।
लोककल्याणकारी विज्ञापन कार्याविधि–२०८२ अनुसार विज्ञापन सम्झौता तथा वितरण गरिने उहाँको भनाइ छ । लोककल्याणकारी विज्ञापनका लागि सूचीकृत भएका अनलाइनबाहेक बाँकी ९९ सय पत्रिका, रेडियो र टेलिभिजन रहेका छन् । रजिष्ट्रारको कार्यालयबाट प्रदान गरिएको विज्ञापन प्रकाशन तथा प्रसारण गरे बापत सञ्चारमाध्यमलाई कार्यविधिले तोके अनुसार रकम भुक्तानी गरिने जनाइएको छ ।
सङ्घ सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाइरहेका बेला गण्डकी प्रदेश सरकारले भने लोककल्याणकारी विज्ञापन सबै सञ्चारमाध्यमलाई वितरण गर्ने भएको हो ।
