बागलुङ, २५ वैशाख
नेपाल रेड क्रस सोसाइटी को आयोजनामा बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विश्व रेडक्रस दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए ।
पछिल्लो समय अस्पतालहरूमा रगतको माग बढिरहेको अवस्थामा यस्ता कार्यक्रमले रगत अभाव न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ । नेपाल रेड क्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य ले रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए ।
नेपाल रेड क्रस सोसाइटीले स्थापना दिवसलाई सामाजिक सेवामूलक गतिविधिसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ । दुर्घटना, शल्यक्रिया, सुत्केरी तथा विभिन्न रोगका बिरामीहरूको उपचारका लागि रगत अत्यावश्यक हुने भएकाले विश्व रेडक्रस दिवसका अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको रेडक्रसका उपसभापति राजेन्द्र आचार्य ले बताए ।
रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताबाट ८ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्रका प्रमुख गुरुदत्त शर्मा ले जानकारी दिए । कार्यक्रम रक्तसञ्चार केन्द्र बागलुङमा सम्पन्न भएको हो ।