पोखरा, २२ वैशाख
राष्ट्रिय समाचार समिति ९रासस०का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई नेपाल पत्रकार महासङ्घ, कास्कीमा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । मङ्गलबार पोखरामा आयोजित सम्मान अर्पण समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पत्रकार द्वयलाई जनही रु। एक लाख एक हजार एक सय ११ सहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रदेश प्रमुख भट्टले पत्रकारिता सामाजिक उत्तरदायित्वसहितको पेशा भएको बताउनुभयो । पत्रकारिता नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । “पत्रकारिता क्षेत्रले कुनै दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ ।
पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु”, उहाँले भन्नुभयो । श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबलीकरणको दिशामा राज्यले उचित ध्यान दिनुपर्ने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।
पत्रकार बस्नेतलाई विसं २०८१ र पत्रकार बराललाई विसं २०८२ को सम्मान प्रदान गरिएको महासङ्घ कास्कीका अध्यक्ष माधब बरालले जानकारी दिनुभयो । तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मिनुभएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राससमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत उहाँले यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गर्नुभएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मिनुभएका बराल विसं २०५५ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उहाँले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्समा पनि काम गर्नुभएको थियो ।
पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रको सुदृढीकरणमा पु¥याएको योगदानस्वरुप उहाँहरुलाई सम्मान गरिएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको स्मृतिमा उहाँको परिवारद्वारा उक्त पत्रकारिता सम्मान कोष स्थापना गरिएको थियो ।
