• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

पोखरा, २१ वैशाख

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपाङ्गता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार नौ सय ४६, मिर्गौलापीडित बिरामीका परिवार चार सय ३१ र द्वन्द्वपीडित तीन सय ८२ रहेका छन् ।

यस्तै जनआन्दोलनका घाइते २८ जना, सहिद तथा बेपत्ता परिवारका ६३ जना र कास्कीमा क्रियाशील दुई सय ११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । “प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आव २०८१÷०८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बीमा भएको हो”, उहाँले भन्नुभयो, “अपाङ्गता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाइरहनुभएको छ ।”

गण्डकी प्रदेशका एक लाख ६१ हजार नौ सय ३५ जना ज्येष्ठ नागरिक, दुई हजार तीन सय ११ एचआईभी सङ्क्रमितको परिवार, अति अशक्त अपाङ्गता भएका पाँच हजार छ सय तीस परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार छ सय ४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

प्रदेशमा हालसम्म चार लाख ४४ हजार सात सय ७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताउनुभयो । जुन प्रदेशको कुल परिवारसङ्ख्यामध्ये ६७ दसमलब ०१ प्रतिशत हो । गण्डकीमा १३ लाख ५६ हजार छ सय ९८ जनाको स्वास्थ्य बीमा गरिएको हो । जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको जनाइएको छ ।

कुल बीमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार दुई सय ३२ अर्थात् ५४ दसमलब ०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको संख्या तीन लाख ३५ हजार पाँच सय पाँच रहेको छ । ७५ प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ । स्वास्थ्य बीमाका लागि प्रदेशभर सात सय २५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताउनुभयो ।

प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचिकृत भएका सेवा प्रदायक÷अस्पतालहरु रहेका छन् । सरकारी ५६ वटा, नीजि चार र सामुदायिक एक गरी कुल ६१ वटा सेवा प्रदायक संस्थाहरु सूचिकृत छन् ।

७० वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घ रोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको छ । पाँच जनासम्मको परिवारले वार्षिक रु. तीन हजार ५०० को बीमा गरे बापत रु. एक लाखसम्मको उपचार सेवा पाउँछन् ।

पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य रु. सात सय थप्नुपर्ने प्रावधान छ ।
ठूलो परिवारले रु. दुई लाखसम्मको उपचार सेवा पाउने जनाइएको छ । बोर्डले तोकेका १२ सय ८८ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बीमाबाट हुने गरेको संयोजक खरेलले बताउनुभयो ।