बागलुङ, २० वैशाख
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ बागलुङले आइतबार बिहान प्रभातफेरीको आयोजना ग¥यो । पत्रकार महासंघको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमापछि लोकतान्त्रिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष रामबहादुर जिसीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रत्याभूतिका लागि सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । प्रेसको अधिकार लोकतन्त्रको महत्वपूर्ण आधारशिला रहेको भन्दै प्रेस स्वतन्त्रता विरोधी गतिविधि कतैबाट पनि हुन नहुने उहाँको भनाइ छ ।
पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले पत्रकार महासंघ स्वतन्त्र प्रेस र नागरिक अधिकारका पक्षमा लड्दै आएको बताउनुभयो । उहाँले जिम्मेवार र मर्यादित पत्रकारिता गर्न दिवसले पत्रकारहरुलाई प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्यलगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
