पोखरा, १९ वैशाख
फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् । प्रिमनसुन अवधिमा भइरहेको वर्षा र पूर्वसावधानीका कारण डढेकोका घटनामा कमी आएको हो । प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत तिलकबहादुर थापाले यस वर्ष डढेलोका घटना न्यून देखिएको बताउनुभयो ।
“यसपालि डढेलोका घटना कम भए, छिटपुट रुपमा लागिहाले पनि वर्षाका कारण डढेलो फैलन पाएन”, उहाँले भन्नुभयो, “बोटबिरुवाले पालुवा हाल्ने र वन क्षेत्रमा हरियाली छाउन सुरु भएकाले अब डढेलोको जोखिम पनि घट्दै जान्छ ।” सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै हुने गरेकामा यसपालि पानी परिरहेकाले त्यस्तो अवस्था नआएको वन अधिकृत थापाले बताउनुभयो ।
विगतको तुलनामा सम्बन्धित सरकारी निकाय, सामुदायिक वन उपभोक्ता समूहलगायत स्थानीवासीले बढी सचेतना अपनाएका कारण पनि डढेलोका घटना नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ । डढेलाका घटना न्यून हुँदा वन क्षेत्रमा क्षति कम हुनुका साथै वायुमण्डलमा प्रर्दुषण पनि घटेको उहाँले बताउनुभयो ।
गत वर्ष पनि त्यो भन्दा अघिल्लो वर्षको तुलनामा डढेलोका घटना कम भएका थिए । गत वर्ष वैशाख तेस्रो सातासम्ममा गण्डकी प्रदेशका जम्मा एक सय ९६ स्थानमा डढेलो लागेकामा यस वर्ष त्यो भन्दा कम हुने देखिएको वन अधिकृत थापाले बताउनुभयो । “ठूलो क्षेत्रमा डढेलो लागेर वनमा क्षति पुगेको घटना यस वर्ष मन्त्रालयमा अभिलेख भएको छैन”, उहाँले भन्नुभयो, “सामान्य र छिटपुट घटनाको गुनासो सङ्कलन र सम्बोधन जिल्ला तहबाटै हुने गरेको छ ।”
दुई वर्षअघि यही याममा भने गण्डकी प्रदेशका चार सय ६७ स्थानमा डढेलोका घटना भएका थिए । उक्त वर्ष डढेलोबाट आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । डढेलो लाग्दा वन क्षेत्रमा बोटबिरुवा, वन्यजन्तु, काठ र दाउरामा क्षति पुग्ने गरेको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याउने गरेको छ ।
विगतमा डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा धनजनकोसमेत क्षति भएका घटना बाहिर आउने गरेका थिए । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ ।
हावाहुरीका कारण पनि डढेलो छिटो फैलने गर्छ । डिभिजन वन कार्यालय, बागलुङका प्रमुख सरोज पन्थीले यस वर्ष हालसम्म जिल्लाका १३ ठाउँमा आगलागीका घटना भएको बताउनुभयो ।
जन विगतका वर्षको तुलनामा कम सङ्ख्या रहेको उहाँको भनाइ छ । आगलागीका कारण दुई ४७ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख पन्थीले बताउनुभयो । “अनियन्त्रित रुपमा डढेलो लागेर वनमा धेरै क्षति पुगेको घटना देखिएको छैन”, उहाँले भन्नुभयो, “स–साना आगलागीका घटना तत्काल नियन्त्रणमा लिइएको छ ।” डढेलो लाग्नुमा मानवीय कारणले नै मुख्य रहेको उहाँको भनाइ छ ।
५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको प्रमुख पन्थीले बताउनुभयो । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ ।
डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको छ ।
डढेलोले भू–क्षय, बाढी जस्ता प्राकृतिक विपतका घटना पनि बढाउने गरेको छ । डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको छ । डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको छ । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको छ ।
