पोखरा, १८ वैशाख
मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनी प्रदुर्षण गर्ने र समाजलाई आंतकित बनाउनेविरूद्ध कास्की प्रहरीले सुरू गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म छ सय ७५ मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा सुरु गरेको उक्त अपरेसनका क्रममा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, चर्को ध्वनिसहित मोटरसाइकल चलाउने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको हो ।
गत असोज २७ गतेदेखि ‘अपरेसन ३६५’ सुरू गरिएको थियो । नियन्त्रणमा लिइएका छ सय ७५ मध्ये दुई सय ३८ मोटरसाइकललाई यातायात व्यवस्था कार्यालयबाट रू। १७ लाख ८५ हजार जरिवाना काटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चार सय ३७ मोटरसाइकल चालकलाई ट्राफिक कारबाही गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो । ‘अपरेसन’का क्रममा प्रहरीमाथि अभद्र व्यवहार गर्ने २९ जना चालकलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाई कारबाही गरिएको उहाँको भनाइ छ ।
समाजमा आतंक सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात सम्झाइबुझाइ परिवारको जिम्मा लगाउने गरिएको कार्यालयले जनाएको छ । प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ ।स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
मोटरसाइकलका पार्टपूर्जाहरु फेरेर स्वरुप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खल्बलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो ।
