पोखरा, १६ वैशाख
‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यमा अघि बढेको मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेम्जास्थित आश्रमस्थललाई ‘मानवसेवा शास्वत धाम’का रुपमा विकास गर्ने भएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार र जीवनरक्षामा सक्रिय आश्रमले मानवसेवाको उत्कृष्ट नुमनाका रुपमा हेम्जाको आश्रमलाई विकास गर्ने भएको हो ।
‘मानवसेवा शास्वत धाम’को लक्ष्य अनुसार हेम्जामा पूर्वाधार निर्माणका कामलाई अगाडि बढाइएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम भवनको पूर्वतर्फ ‘मुक्तिनाथ सेवा धर्मशाला’ निर्माण हुने उहाँको भनाइ छ । मुक्तिनाथलगायत यस क्षेत्रका प्रसिद्ध तीर्थस्थलमा जाने स्वदेशी तथा विदेशी श्रद्धालुहरुलाई लक्षित गरी उक्त धर्मशाला बनाउन लागिएको हो ।
तीर्थयात्रीहरुलाई आवास र भोजनसहितको निःस्वार्थ सेवाका लागि उक्त धर्मशाला निर्माणको योजना ल्याइएको अध्यक्ष अधिकारीले बताउनुभयो । एक सय महिला र एक सय पुरुष गरी दुई सय जनालाई सेवा दिन मिल्ने गरी धर्मशाला बन्ने जनाइएको छ । सोही स्थानमा अहिले क्ष्मीनारायण मन्दिर पनि निर्माण भइरहेको छ ।
निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार सम्पन्न गर्न, अक्षयकोष वृद्धि र आश्रमस्थललाई शास्वत धामका रुपमा विकास गर्न आश्रमले यही वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको छ । भागवत् भाष्कर श्री कमलनयन गौतमले कथा प्रवचन रहेको उक्त महायज्ञबाट रु. दस करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको आश्रमले जनाएको छ ।
विसं २०७५ चैतदेखि सुरु भएको हेम्जाको आश्रम भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । । रु. दस करोडको लागतमा उक्त भवन बन्न लागेको हो । लक्ष्मीनारायण मन्दिरको निर्माण ६० प्रतिशत सकिएको आश्रमका केन्द्रीय सदस्य सदिस पुनले जानकारी दिनुभयो । तीनै तहका सरकार र दाताहरुले आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भएको उहाँले बताउनुभयो । आश्रमको हेम्जा र छोरेपाटन गरी कास्कीमा दुईवटा सेवाकेन्द्र छन् । छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित छन् ।
‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरुको उद्धार र संरक्षण गर्ने उद्देश्ययले १३ वर्षअघि मानवसेवा आश्रम स्थापना भएको थियो ।
‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ । मध्यकालीन योजनामा विसं २०८७ भित्र मानवसेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापना गर्ने लक्ष्य लिइएको छ ।
मुख्य कार्यालय मकवानपुरको हेटौँडामा रहेको आश्रमका २१ जिल्लामा ३३ सेवा केन्द्रहरु सञ्चालित छन् । आश्रमले हालसम्म १२ हजार दुई सय ४८ जनालाई सेवा प्रदान गरेको जनाइएको छ । मकवानपुर, वीरगञ्ज, चितवन, धनगढी, बुटवल, विराटनगर, कास्की, सर्लाही, लमजुङ, दाङ, गोरखा र बागलुङमा आश्रमका आफ्नै भवन छन् ।