बागलुङ, १५ वैशाख
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै जिल्ला समन्य समिति मार्फत स्थानीय तहका प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघ बागलुङ शाखाका उपाध्यक्ष सुवास आचार्यसहित पत्रकारको टोलीले मंगलबार जिल्ला समन्य समितिका सदस्य जसोदा शर्मालाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते जारी परिपत्रमार्फत संघ, प्रदेश र स्थानीय तहका निकायहरुले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशन प्रशारण गर्नु पर्ने निर्णय गरेको प्रति आपत्ति जनाउदै विभिन्न विरोधका कार्यक्रमहरु गरिरहेको छ ।
सरकारको निर्णयले निजी सञ्चारमाध्यम आर्थिक रुपमा सङ्कटमा पर्ने भन्दै उक्त निर्णय कार्यन्वयन नगर्न आव्हान गर्दै जिल्ला समन्वय समिति मार्फत नगरप्रमुख तथा गाउँपालिका अध्यक्षज्यूहरुलाई ज्ञापनपत्र पठाइएको उपाध्यक्ष आचार्यले बताए । महासंघले संघ सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न स्थानीय तहरूलाई आव्हान गरेको छ ।
ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका सदस्य जसोदा शर्माले आजै सबै स्थानीय तहका कार्यालयहरुमा पठाउने बताइन् ।
निजी सञ्चारमाध्यममा विज्ञापन रोक लगाउने निर्णयले सञ्चार क्षेत्रको दिगोपन र सबलीकरणमा गम्भीर प्रश्न उठाएको भन्दै महासंघले सरकारको उक्त निर्णयले पत्रकारहरू पारिश्रमिक तथा सेवा–सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना गरेकाले संविधानले सुनिश्चित गरेको समान अवसर र खुला प्रतिस्पर्धाको सिद्धान्त विपरीत गरिएको निर्णय फिर्ता लिन सरकारसमक्ष आग्रह गरिएको छ ।
