बैशाख १४, पोखरा ।
कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूसँग बिमा तथा पञ्जीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
उद्घाटनका क्रममा प्रमुख पौडेलले बिमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। उहाँले आम कृषकसम्म बिमा सम्बन्धी जानकारी पुर्याउन बिमा सेवा प्रदायक संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
साथै, बिमा दाबी तथा भुक्तानी प्रक्रियामा जटिलता रहेको सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्दै सो प्रक्रिया सरल र सहज बनाउन सरकारी निकाय तथा नियामक निकाय नेपाल बिमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने उहाँको धारणा थियो।
कार्यक्रममा नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा कृषि बिमाको व्यवस्था, सम्बन्धित ऐन–कानुन, अनुदान व्यवस्था, बिमा शुल्क तथा दाबी र भुक्तानी प्रक्रियाबारे जानकारी गराउनुभयो।
त्यसैगरी कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकता, राहदानीलगायत पञ्जीकरणसम्बन्धी समस्या र समाधानका विषयमा सहजीकरण गर्नुभयो। रूपा गाउँपालिका–२ का वडाध्यक्ष राजन सुबेदी र माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत केशव सुबेदीलगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो।
कार्यक्रममा कास्कीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, बिमा सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति कास्कीले संयोजन गरेको हो।