पोखरा, १० वैशाख
जिल्ला प्रहरी कार्यालय, कास्कीले गएराति पोखराका पाँच ठाउँमा ‘स्विप अप्रेशन’ चलाएको छ । रातभर सञ्चालन भएको अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने एक सय २२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने, गाँजालगायत अवैध लागूऔषध सेवन गर्ने एक सय २२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताउनुभयो ।
“एक सय २२ जनामध्ये ८२ जनाले लागूऔषध सेवन गरेको पाइएको छ, केहीको साथमा गाँजासमेत फेला परेको छ”, उहाँले भन्नुभयो, “बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्विप अप्रेशन सञ्चालन गरिएको थियो ।”
बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४० जना, शिशुवाबाट २० जना, बगरबाट १२ जना र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेशन’ चलाएको हो ।
“गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने तयारी भइरहेको छ, पटके रुपमा यस्ता कृयाकलापमा संलग्न रहेको पाइएमा भने कानुनी कारबाहीको प्रकृया अगाडि बढ्छ”, प्रहरी निरीक्षक पाण्डेले भन्नुभयो, “लेकसाइडलगाएत क्षेत्रमा गाँजाजन्य पदार्थ र मदिरा सेवन गरी रातिको समयमा होहल्ला गर्ने गरेको गुनासो बढेपछि प्रहरी विशेष अप्रेशन सञ्चालन गरेको हो ।”
गएराति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उहाँको भनाइ छ । कास्की प्रहरीले केही समयदेखि ‘स्विप अप्रेशन’लाई निरन्तरता दिँदै आएको छ । केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने कार्यमा संलग्न महिलाहरुलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अगाडि बढाइएको छ ।