बागलुङ, ९ चैत
कालिका भगवती मन्दिरको गत माघ, फागुन र चैत महिनाको आम्दानी एक करोड ३८ लाख ८० हजार रुपैयाँ पुगेको छ। भगवती गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गरेको हो।
चैत महिनामा सबैभन्दा बढी ७६ लाख ४२ हजार १७५ रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले बताए। फागुन महिनामा ३५ लाख ९१ हजार १२० रुपैयाँ र माघ महिनामा २६ लाख ४७ हजार २२५ रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए।
मन्दिरमा भेटी, चामल, बोका, कुखुरा, राँगा, भाडा, आर्थिक सहयोग, परेवा, सिक्का सटही, ब्रतबन्ध, विवाहलगायतबाट आम्दानी हुने गरेको छ। समितिले आम्दानीसँगै खर्च पनि सार्वजनिक गरेको छ।
तलब, आर्थिक सहयोग, पूजा खर्च, खाद्यान्न तथा आवास, चैत्राष्टमी मेला, विद्युत्, फर्निचर तथा सजावट, अतिथि सत्कारलगायत शीर्षकमा ५९ लाख ८५ हजारभन्दा बढी खर्च भएको जनाइएको छ। आम्दानीबाट खर्च घटाउँदा ७८ लाख ९४ हजारभन्दा बढी बचत भएको अध्यक्ष खड्काले बताए।
