• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक, सात लाख बढी बचत

बागलुङ, ८ वैशाख

कालिका भगवती गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको आय–व्यय सार्वजनिक गरेको छ। गत चैत १० देखि १४ गतेसम्म सञ्चालन भएको मेलाको आय–व्यय मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

मेलामा कुल ४३ लाख ८३ हजार ४२४ रुपैयाँ खर्च भएको छ भने ५१ लाख ६५ हजार ५५ रुपैयाँ आम्दानी हुदाँ ७ लाख ८१ हजार ६३१ रुपैयाँ बचत भएको कालिका भगवति गुठि व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले बताए ।

खर्चतर्फ राष्ट्रिय कलाकारका लागि ९ लाख ९० हजार रुपैयाँ, कालिका कप पुरुष तथा महिला भलिबलका लागि ७ लाख ५० हजार रुपैयाँ, अतिथि सत्कारमा ५ लाख ५१ हजार रुपैयाँ तथा प्रचार–प्रसारमा २ लाख रुपैयाँ खर्च भएको छ। अन्य विभिन्न शीर्षकमा समेत रकम खर्च गरिएको अध्यक्ष खड्काले जानकारी दिए।

आम्दानीतर्फ कालिका भगवती मन्दिरबाट २० लाख रुपैयाँ, रमाइलो मेलाबाट १० लाख रुपैयाँ, विभिन्न प्रायोजनबाट ८ लाख ९५ हजार रुपैयाँ, सहयोगी संस्थाबाट ३ लाख ४३ हजार रुपैयाँ, स्टलबाट १ लाख ७० हजार रुपैयाँ र दर्ता शुल्कबाट १ लाख ७ हजार रुपैयाँ संकलन भएको हो। ‘गन्तव्य बागलुङ कालिका—स्थानीय उत्पादनको प्रवर्द्धन, कला संस्कृति र समृद्धिको आधार, धार्मिक पर्यटन’ भन्ने नारासहित आयोजना गरिएको मेलामा कालिका कप भलिबल, छेलो प्रतियोगिता, विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति लगायत गतिविधि सञ्चालन गरिएको थियो।

कालिका भगवतीसँग जोडिएको चैत्राष्टमी मेलाले लामो इतिहास बोकेको छ। मध्यकालमा पर्वत राज्यकालदेखि सुरु भएको चैतेदसैं मेलाको निरन्तरता स्वरूप गुठी व्यवस्थापन समितिले प्रत्येक वर्ष मेला आयोजना गर्दै आएको अध्यक्ष खड्काले बताए। मेलामार्फत कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनमा टेवा पुगेको खड्काको भनाइ छ ।