• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

सय वर्षमा बागलुङको लक्ष्मी नारायण मन्दिर

बागलुङ, ६ वैशाख

बागलुङ बजारको नारायणचोकमा रहेको श्री लक्ष्मी नारायण मन्दिरले सय वर्ष पूरा गरेको छ। सोमबार अक्षय तृतीयाका अवसरमा मन्दिरको शताब्दी वर्ष मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो। मन्दिर सेवा समितिका अध्यक्ष जयराम भारीका अनुसार शताब्दी वर्षको अवसरमा भजन–कीर्तन, बजार परिक्रमा, विशेष पूजा, हवन, लक्षवत्ती प्रज्वलन तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ।

विसं.१९८३ सालमा स्व. टेकनारायण भारीले विभिन्न व्यक्तिहरुबाट संकलित एक हजार ३६२ रुपैयाँबाट निर्माण गरिएको मन्दिर समयक्रमसँगै स्तरोन्नति हुँदै आएको छ। २०१७ सालमा आधिकारिक रूपमा दर्ता भएको मन्दिरले धर्म, संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

मन्दिरबाट गाइजात्रा, तयामचा, रोपाइँ नाच, भदौरे नाचलगायत नेवारी संस्कार र संस्कृतिलाई झल्काउने विभिन्न जात्रा तथा नाचहरू निकालिँदै आएको छ । जसले बागलुङको सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ।