बागलुङ, ३ वैशाख
गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल पुर्नगठनप्रति असन्तुष्टि जनाउँदै बुधबार पदबाट राजीनामा दिएका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । बुधबारदेखि नै लागू हुने गरी प्रदेशसभा सभामुख कृष्णप्रसाद धिताललाई ‘ह्वाट्सएप’मार्फत राजीनामा पत्र पठाएका कुँवरको राजीनामा एकदिन पनि टिक्न सकेन ।
बिहीबार सभामुख धिताललाई टेलिफोन गरी उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका छन् । सभामुख धितालले कुँवरले आफ्नो राजीनामाको प्रकृया अगाडि नबढाउन आग्रह गरेको बताए । “राजीनामा पत्र औपचारिक रुपमा प्रदेशसभा सचिवालयमा दर्ता भएको थिएन, इमेल र ह्वाट्सएपमार्फत प्राप्त भएको थियो”, सभामुख धितालले भने, “आज टेलिफोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी दिनुभएको छ ।”
विसं २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट बागलुङ–२ (२) बाट निर्वाचित कुँवरले मन्त्री पद नपाएका कारण राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।