• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

एकीकृत सेवा कार्यालयद्वारा ब्यूटिसियन र कुक तालिम प्रदान

बागलुङ, ३ वैशाख

युवालाई सिप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले एकीकृत सेवा कार्यालय, बागलुङले एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान गरेको छ । बागलुङ बजारमा सञ्चालित तालिममा ब्यूटिसियनतर्फ २९ र कुकतर्फ २० जनालाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख शिव शर्माले जानकारी दिए । बिहीबार आयोजित तालिमको समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अम्मरबहादुर थापा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालगायतले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा प्रशिक्षार्थी कमला बोहोरा, कमला मल्ल र प्रशिक्षक चन्द्रकला छन्त्यालले आफ्नो अनुभव सुनाएकी थिइन् । उनीहरुले उद्यम सञ्चालन गरी आयआर्जनसँग जोडिन थप तालिमको आवश्यकता रहेको औँल्याएका थिए । सहभागीले सीपमूलक तालिम प्रदान गरेकामा एकीकृत सेवा कार्यालयप्रति खुसी व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि अम्मरबहादुर थापाले तालिमले युवालाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए ।

नगर उपप्रमुख राजु खड्काले तालिमका सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे । होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखाला र केन्द्रीय सचिव निलेश राजभण्डारीले होटल व्यवसायमा दक्ष र सीपयुक्त जनशक्तिको सँधै खाँचो भइरहने बताए । उनीहरुले तालिमका सहभागीमध्येबाट आवश्यकता अनुसार रोजगारीमा जोड्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापा, सौन्दर्य व्यवसायी संघका अध्यक्ष पार्वती अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठलगातयले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यालय प्रमुख शर्माले तालिममा नेपाली परिकार पकाउने सीपसँगै सरसफाइ, प्रस्तुति र सेवासम्बन्धी आधारभूत विषयमा सिप सिकाइएको बताए । कार्यालयले चालु आर्थिक वर्षमा छुट्याएको ५ लाख रुपैयाँ बजेटअन्तर्गत विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । युवालाई उद्यमशील बनाउँदै वैदेशिक पलायन घटाउने उद्देश्यले यस्ता कार्यक्रम अघि बढाइएको कार्यालयले जनाएको छ।