बागलुङ, १ वैशााख
राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत स्थलगत तथ्याकं संकलन कार्य बुधबारदेखि सुरू हुँदैछ । आर्थिक गणनाका लागि देशभर छनोट भएका गणक र सुपरीवेक्षकका लागि पाँच दिनको तालिम दिएर कार्यस्थलमा खटाइएको राष्ट्रिय तथ्याकं कार्यालयले जनाएको छ ।
यही वैशाख दुई गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना कार्य संचालन हुनेछ । जिल्ला आर्थिक गणना कार्यालय, बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले देशैभर एकसाथ यही चैत २६ गतेदेखि ३० गतेसम्म गणक र सुपरीवेक्षकहरूलाई तालिम प्रदान गरिएको बताउनुभयो ।
उहाँका अनुसार बागलुङमा ३३ गणक र पाँच सुपरीवेक्षक आर्थिक गणनामा खटिनेछन् । “पाँच दिनको तालिम पूरा गरेर गणक र सुपरीवेक्षकहरू तोकिएका क्षेत्रमा पुग्नुभएको छ”, उहाँले भन्नुभयो, “वैशाख २ गतेदेखि आर्थिक गणना कार्य सुरू हुन्छ ।”
सत्यतथ्य र विश्वसनीय रुपमा आर्थिक विवरण/तथ्याङ्क सङ्कलन गर्नका लागि गणक र सुपरीवेक्षकलाई प्रशिक्षित गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास लक्ष्य मापन, प्रतिस्पर्धी क्षेत्रहरुको उजागर, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदानको मापन आदिका कारण आर्थिक गणनाको महत्व रहेको उहाँको भनाइ छ ।
जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले मुलुकको नीति तथा योजना निर्माणका लागि आर्थिक गणना महत्वपूर्ण रहेको बताउनुभयो।
आर्थिक गणनामा विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठान/व्यवसायहरुको गणना गरिने जनाइएको छ । यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ मा संचालन गरिएको थियो ।
