पोखरा, ३० चैत
हरेक वसन्त याममा थरीथरीका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक घुम्टे । पछिल्लो समय नयाँ वर्ष पारेर ‘गुराँस उत्सव’ गर्न थालिएपछि घुम्टेको चिनारी थप फैलिँदो छ । नयाँ वर्ष २०८३ सम्मुखमा आइपुगेको छ । यसपालि १४औँ संस्करणको ‘गुराँस उत्सव’ आयोजना हुँदैछ । घुम्टे पर्यटन विकास केन्द्रले विसं २०७० देखि ‘गुराँस उत्सव’सहित पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ ।
सोमबार र मङ्गलबार घुम्टेमा विविध कार्यक्रम गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । ३१ सय २० मिटर उचाइमा रहेको घुम्टे लेकबाट नयाँ वर्षलाई स्वागत गरिने उहाँको भनाइ छ । ‘गुराँस उत्सव’ले प्रकृतिप्रेमी पर्यटक लोभ्याउने गरेको छ । विशेष गरी आन्तरिक पर्यटकले घुम्टेलाई नयाँ वर्षको गन्तव्य बनाउन थालेका छन् । गुराँस फूल्ने याम र नयाँ वर्षको अवसर पारेर यो उत्सव हुँदै आएको छ ।
घुम्टेको पर्यटन प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष बस्नेतले बताउनुभयो । “यस वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्नका लागि पनि घुम्टे उपयुक्त गन्तव्य हो”, उहाँले भन्नुभयो, “यहाँ फूल्ने रङ्गीचङ्गी गुराँस र प्राकृतिक सौन्दर्यले जो कोहीलाई आकर्षित गर्छ ।” घुम्टेको घना वन क्षेत्रमा दर्जनौँ प्रजातिका गुराँस फूल्ने गर्छन् ।
अध्यक्ष बस्नेतका अनुसार बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन पुग्ने पर्यटकले पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र साँस्कृतिक साँझको अनुभव बटुल्न पाउनेछन् । नयाँ वर्षको पहिलो दिन मङ्गलबार सुर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिकोे प्रर्दशनीसहित मूल समारोहको आयोजना गरिने भएको छ ।
यसपालि घुम्टेमा विश्वशान्ति यज्ञकोसमेत आयोजना गरिएको गलकोट नगरपालिका–७ मल्का वडाध्यक्ष राज थापाले बताउनुभयो । “विश्वशान्तिको कामना गर्दै २७ लाख दीप प्रज्ववलनसहित पाठपारायणसहित धार्मिक अनुष्ठान सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “घुम्टेको धुरीमा रहेका प्रसिद्ध सिद्ध र भैरव मन्दिरमा विशेष पूजापाठसमेत हुनेछ ।” गलकोट पण्डित समाजसँगको सहकार्यमा विश्वशान्ति यज्ञको आयोजना गरिएको हो ।
घुम्टे पर्यटन विकास केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवद्र्धन सुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा ‘गुराँस उत्सव’ले टेवा पु¥याएको वडाध्यक्ष थापाले बताउनुभयो ।
घुमफिरमा जाने पर्यटकसँगै त्यहाँ रहेका प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको लागि जाने भक्तजन पनि उत्तिकै हुन्छन् । घुम्टेमा पूजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । घुम्टे गण्डकी प्रदेशको पर्यटकीय सूचिमा पनि सूचिकृत रहेको गन्तव्यस्थल हो ।
तीनै तहका सरकारसहित स्थानीयवासीको सहयोग र श्रमदानमा घुम्टेमा मन्दिर पुनःनिर्माण, पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टेमा वैशाखे पूर्णिमामा परम्परागत मेला लाग्दै आएको छ । उक्त मेला भर्न हजारौ पर्यटक तथा भक्तजन घुम्टे चढ्छन् । पौराणिक कालमा पाण्डवहरुले घुम्टेमा तपस्या गरेको जनश्रुती पाइन्छ ।
