• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

गलकोटमा भएको आगलागीको घटनामा एक करोड बराबरको क्षति

बागलुङ, २९ चैत

गलकोट नगरपालिका–७ मल्म, बामियाका टीकाबहादुर खड्काको घरमा गएराति भएको आगलागीबाट रु. एक करोड बराबरको भौतिक क्षति भएको छ । खड्काका एकैठाउँ जोडिएका दुई घर जल्दा भौतिक सम्पत्ति सम्पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्मर बोहराले जानकारी दिए ।

“मानवीय क्षति नभएपनि दुईवटै घर जलेर नष्ट भएको छ, परिवारले दिएको जानकारी र घटनास्थलको अनुगमनका आधारमा झण्डै रु. एक करोड बराबरको क्षति भएको प्राररम्भिक अनुमान गरिएको छ”, उनले भने । प्राविधिक मुल्याङ्कन गर्दा क्षतिको रकम केही घटबढ पनि हुने सक्ने प्रहरी निरीक्षक बोहराले बताए ।

विद्युत् सर्ट भएर आगलागी भएको उनको भनाइ छ । मध्यरातमा भएको घटनाका कारण आगलागी तत्काल नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीले बताएका छन् । ढुङ्गामाटो र काठले बनेका पुराना घर भएकाले बढी क्षति भएको प्रहरीले जनाएको छ । घर जलेर पूर्ण नष्ट भएपनि परिवारका सदस्यले भने भागेर ज्यान बचाएका थिए ।