बागलुङ, २८ चैत
बागलुङस्थित धवलागिरि प्रादेशिक अस्पतालमा मिर्गौला तथा पिसाबसम्बन्धी बिरामीहरूका लागि थप विशेषज्ञ सेवा सुरु गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रमुख कन्सल्टेन्ट मिर्गौला रोग विशेषज्ञ डा. विकास खत्रीले आजदेखि बिरामीलाई सेवा प्रदान गर्न थाल्नुभएको हो।
अस्पतालका अनुसार पहिलो दिनमै २६ जना बिरामीहरूले प्रत्यक्ष रूपमा सेवा लिएका छन्। यस सेवामा डा. बिपना केसी, स्टाफ नर्स सरस्वती गौतम, मनीषा केसीलगायतको सक्रिय सहभागिता रहेको थियो। साथै सेवा सहजीकरणमा काउन्टर इन्चार्ज सृजना कार्की र उहाँको टोलीको महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार अबदेखि मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा हरेक महिनाको चौथो शनिबार बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ। मृगौला रोग, पिसाबमा रगत वा प्रोटिन देखिने समस्या, उच्च रक्तचाप नियन्त्रणमा कठिनाइ, शरीर सुन्निने, तथा मधुमेहका कारण मृगौलामा असर परेका बिरामीहरूले यस सेवाबाट लाभ लिन सक्नेछन्।
यसैबीच, अस्पतालले गत महिनादेखि नै हरेक महिनाको दोस्रो शनिबार मनरोग विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याइसकेको जनाएको छ। अस्पतालले आगामी दिनहरूमा यी दुवै सेवाबाट अधिकतम सेवाग्राहीहरूले लाभ लिने अपेक्षा गर्दै सबैलाई सेवा लिन अनुरोध गरेको छ।