पोखरा, २६ चैत
गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार सात सय ७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवारसङ्ख्यामध्ये ६७ दसमलब ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडा अनुसार गण्डकीमा १३ लाख ५६ हजार छ सय ९८ जनाको स्वास्थ्य बीमा भएको छ ।
जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । कुल बीमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार दुई सय ३२ अर्थात् ५४ दसमलब ०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको संख्या तीन लाख ३५ हजार पाँच सय पाँच रहेको छ । ७५ प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ ।
स्वास्थ्य बीमाका लागि प्रदेशभर सात सय २५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताउनुभयो । बीमाको योगदान रकमबाट गत आव २०८१÷०८२ मा ५६ करोड ७६ लाख ६८ हजार एक सय सङ्कलन भएको उहाँको भनाइ छ ।
एक लाख ६१ हजार नौ सय ३५ जना ज्येष्ठ नागरिक, दुई हजार तीन सय ११ एचआईभी सङ्क्रमितको परिवार, अति अशक्त अपाङ्गता भएका पाँच हजार छ सय तीस परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार छ सय ४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।
प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचिकृत भएका सेवा प्रदायक÷अस्पतालहरु रहेका छन् । सरकारी ५६ वटा, नीजि चार र सामुदायिक एक गरी कुल ६१ वटा सेवा प्रदायक संस्थाहरु सूचिकृत छन् । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा गत आव २०८१÷०८२ मा सात हजार ६१ जनाको बीमा गरिएको संयोजक खरेलले बताउनुभयो ।
जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार नौ सय ४६, मिर्गौलापीडित बिरामीका परिवार चार सय ३१, द्वन्द्वपीडित तीन सय ८२, जनआन्दोलनका घाइते २८ जना, सहिद तथा बेपत्ता परिवारका ६३ जना र कास्कीमा क्रियाशील दुई सय ११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको हो ।
सरकारको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विसं २०७३ असारमा गण्डकीमा पहिलोपटक बागलुङबाट स्वास्थ्य बीमा सुरु भएको थियो । अहिले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । पछिल्लोपटक विसं २०७७ चैतदेखि हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा कार्यक्रम विस्तार गरिएको थियो । स्तरीय अस्पतालबाट सेवा लिन पाइने भएकाले गण्डकीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ ।
७० वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घ रोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको छ । स्वास्थ्य बीमा बोर्डले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशभित्र ६१ वटा अस्पताल तोकेको छ । पाँच जनासम्मको परिवारले वार्षिक रु। तीन हजार ५०० को बीमा गरे बापत रु। एक लाखसम्मको उपचार सेवा पाउँछन् । पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य रु। सात सय थप्नुपर्ने प्रावधान छ ।
ठूलो परिवारले रु। दुई लाखसम्मको उपचार सेवा पाउने बोर्डको भनाइ छ । बोर्डले तोकेका १२ सय ८८ प्रकारका औषधि, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बीमाबाट हुने गरेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय, बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि धवलागिरि अस्पताललगायत सूचिकृत अस्पताहरुमा बिरामीको चाप बढ्दै गएको उहाँको भनाइ छ ।
वडा तहमा खटिएका दर्ता सहयोगीमार्फत बीमा दर्ता हुने गरेको छ । स्वास्थ्य बीमाको महत्वबारे बुझाएर परिवार र तिनका सदस्यलाई बीमामा जोड्ने गरिएको छ । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि सुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । अहिले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको छ । सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने सरकारको लक्ष्य छ ।