बागलुङ, २५ चैत
१० औँ स्वास्थ्य बिमा दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा स्वास्थ्य बिमा कार्यालय बागलुङको आयोजनामा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले बिमाले व्यक्ति तथा परिवारलाई आर्थिक सुरक्षाको आधार प्रदान गर्ने उल्लेख गर्दै यसको महत्वबारे प्रकाश पारेका थिए। उनीहरूले प्राकृतिक विपद्, दुर्घटना तथा विभिन्न जोखिमबाट जोगिन बिमा अपरिहार्य भएको बताए।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका संयोजक नारायणप्रसाद पौडेलले जिल्लाको बिमा अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए। उनका अनुसार बागलुङ जिल्लामा ४६ हजार ६ सय ५४ परिवार बिमामा आबद्ध रहेका छन्। जिल्लाको कुल जनसंख्याको ५८ प्रतिशत बिमामा आबद्ध भएको र बिमितमध्ये ९० प्रतिशतले सेवा लिएको उनले जानकारी दिए।
कार्यक्रममा बागलुङ नगरपालिका, जनस्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद अस्पताल, नगर स्वास्थ्य शाखा, धौलागिरी प्रादेशिक अस्पताल तथा स्वास्थ्य बिमा कार्यालय बागलुङका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वास्थ्य बिमा कार्यालयका दर्ता सहयोगी निर्मला शर्माको स्वागत मन्तव्य र धौलागिरी प्रादेशिक अस्पतालका प्रशासन अधिकृत तुलसीराम कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो।