बागलुङ, चैत २४
‘उज्यालो बागलुङ’ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बागलुङ बजारका मुख्य सडक र चोकमा हाइमास्ट प्रविधिको बत्ती जडान गरेको छ । दस स्थानमा बत्ती जडान भएसँगै रातको समयमा बजार क्षेत्र उज्यालो र सुरक्षित बनेको छ।
नगरपालिकाका अनुसार वडा नं. १, २, ३ र ४ का मुख्य चोक गरी १० स्थानमा हाइमास्ट बत्ती जडान गरिएको हो। वडा नं. १ अन्तर्गत मालढुंगा प्रवेशद्वार र कालिका भगवती मन्दिर क्षेत्रमा बत्ती जडान गरिएको छ। त्यस्तै वडा नं.२ मा ट्राफिक चोक नजिकै रहेको ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पस गेट र लोकतान्त्रिक चोकमा बत्ती राखिएको छ।
वडा नं. ३ को चिप्लेटी बसपार्क क्षेत्र र जिल्ला प्रशासन कार्यालय अगाडि तथा वडा नं. ४ को आर्मी ब्यारेक अगाडिको एटिएम चोक र नयाँ बसपार्क क्षेत्रमा समेत हाइमास्ट बत्ती जडान गरिएको बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले बताए ।
नगरपालिकाले उज्यालो बागलुङ अभियानलाई थप विस्तार गर्दै आगामी दिनमा बजारका अन्य क्षेत्र तथा ग्रामीण भेगहरूमा समेत सडक बत्ती जडान गर्ने योजना बनाएको छ। यसले रातको समयमा आवागमन सहज बनाउनुका साथै चोरी–डकैतीजस्ता अपराधिक गतिविधि नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
