• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

स्ववियुद्वारा स्थापित एक करोड बढीको छात्रवृत्ति कोष हस्तान्तरण

बागलुङ, २४ चैत

धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) २०७९ ले स्थापना गरेको छात्रवृत्ति कोषको रकम मंगलबार क्याम्पसलाई हस्तान्तरण गरिएको छ। क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीले शिलालेख अनावरण गर्दै रू. एक करोड नौ लाख ४१ हजार छ सय ५१ को उक्त कोषलाई औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रा।डा। केसीले अन्य क्याम्पसको तुलनामा धवलागिरि बहुमुखी क्याम्पसको स्ववियुले उदाहरणीय र अनुकरणीय काम गरेको बताए। उनले विद्यार्थी संगठनले समाजप्रति उत्तरदायित्व बोध गर्दै गरेको यस्तो कार्यले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै अन्य क्याम्पसका स्ववियुहरूलाई समेत यस्ता रचनात्मक गतिविधि सञ्चालन गर्न प्रेरित हुने विश्वास व्यक्त गरे। उनले सरकारले गर्नुपर्ने काम समेत विद्यार्थीहरूले अघि बढाएर सम्पन्न गर्नु सुखद पक्ष भएको भन्दै खुसी व्यक्त गरे।

स्ववियुद्वारा सङ्कलन गरिएको उक्त छात्रवृत्ति कोषको रकम सोही कार्यक्रममा क्याम्पस सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ। कोषबाट प्राप्त हुने व्याजमार्फत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

निवर्तमान स्ववियु कोषाध्यक्ष सृष्टि आचार्यका अनुसार देउसी–भैलो कार्यक्रम, विभिन्न संघ–संस्था तथा सहयोगी व्यक्तिहरूबाट प्राप्त सहयोगमार्फत कोषमा रकम सङ्कलन गरिएको हो। उनले कोष सञ्चालनलाई व्यवस्थित बनाउन आवश्यक विधान समेत तयार गरिएको जानकारी दिइन्।

कार्यक्रममा कोष निर्माणमा योगदान गर्ने सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। साथै ‘धवलागिरि दर्पण’ अक्षयकोष विशेषाङ्कको विमोचन पनि गरिएको थियो।

कार्यक्रम निवर्तमान स्ववियु अध्यक्ष सुदीप सागर कँडेलको अध्यक्षता वर्तमान अध्यक्ष आस्मिन सेखको स्वागत मन्तव्य, निवर्तमान उपाध्यक्ष दीपक सुवेदी र कोषाध्यक्ष सृष्टि आचार्यको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी, सञ्चालक समिति सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।