• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

ओझेलमा परे काठका ठेका, परम्परागत पेशा संकटमा

बागलुङ, २३ चैत

बागलुङको जैमिनी नगरपालिका–सर्कुवाका ६५ वर्षीय मनबहादुर विक परम्परागत रूपमा काठका ठेका बनाउने पेशामा संलग्न छन्। यसपालिको चैत्राष्टमी मेलामा बिक्रीका लागि ल्याएका ठेकामध्ये उनले जम्मा पाँचवटा मात्रै बिक्री गर्न सकेपछि निराश भएका छन्।

विक १५ वर्षको उमेरदेखि नै यस पेशामा आबद्ध छन्। हजुरबा र बुबासँगै बसेर सिकेको सीपलाई निरन्तरता दिँदै आएका उनले विगतमा वर्षभरि ठेका बनाउने र भदौ, असोज तथा कात्तिक महिनामा गाउँ–गाउँ पुगेर बिक्री गर्ने गर्थे। तर पछिल्लो समय बजारमा सस्तो मूल्यमा पाइने स्टिलका भाँडाका कारण काठका ठेकाको माग घट्दै गएको उनी बताउँछन्।

अहिले माग आएमा मात्र ठेका बनाउने गरेको र वर्षभरिमा करिब ५० देखि ६० वटासम्म मात्रै बिक्री हुने गरेको उनको भनाइ छ। काठका ठेकामा जमाइने मोही स्वास्थ्यका हिसाबले राम्रो हुने भए पनि आधुनिक सामग्रीप्रति बढ्दो आकर्षणले आफ्नो पेशा संकटमा परेको उनको गुनासो छ।

यस पेशामा जनशक्ति अभाव पनि अर्को ठूलो समस्या बनेको छ। गाउँबाट दक्ष जनशक्ति पलायन भइरहेका कारण सहयोगी पाउन कठिन भएको उनले बताए। काठको काम पूर्ण रूपमा हातैले गर्नुपर्ने भएकाले शारीरिक रूपमा निकै गाह्रो हुने अनुभव उनले सुनाए। ठेकी बनाउन लोती तान्ने जस्ता काममा समेत सहयोगी नपाउने अवस्था रहेको उनको भनाइ छ।

विकले ठेकाठेकी बनाउन प्रयोग हुने गिठाको काठ अधियाँमा ल्याउने गरेका छन्। एक माना अट्ने ठेकीलाई उनले हाल रु. ७०० मा बिक्री गर्दै आएका छन्।

उनी भन्छन्, “यदि बिजुलीबाट चल्ने मेसिन प्रयोग गर्न पाइयो भने काम सजिलो हुन्थ्यो।” यसका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायबाट सहयोगको अपेक्षा उनले गरेका छन्।

यता, म्याग्दीको मराङका प्रकाश लामगादेले पछिल्लो समय घरायसी प्रयोगभन्दा सजावटका लागि ठेकाठेकी खरिद गर्ने चलन बढेकाले सानो आकारका ठेकी उत्पादन गर्ने गरेको बताए। ग्रामीण भेगमा भन्दा शहरमा यसको माग बढी रहेको उनको अनुभव छ।

लामगादेले आफ्नो तथा छिमेकी जिल्लामा हुने मेला–महोत्सवमा ठेकाठेकी बिक्री गर्ने गरेका छन्। उनी भन्छन्, “बजारको राम्रो व्यवस्थापन हुने हो भने हामीजस्ता युवाले रोजगारी पाउँथ्यौँ, साथै स्थानीय उत्पादन र परम्परागत सामग्रीको संरक्षण पनि हुने थियो।”

स्थानीय स्तरमा उत्पादन हुने यस्ता परम्परागत घरायसी सामग्रीको उत्पादन, बजारीकरण र संरक्षणमा जोड दिन सके खेर गइरहेका कच्चा पदार्थको उपयोगसँगै रोजगारी सिर्जना गर्न सकिने देखिन्छ।