• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

पोखरा, १८ चैत

गण्डकी प्रदेशसभाको बुधबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विसं २०८१ चैत २२ मा दफाबार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित मंगलबार प्रदेशसभामा प्रस्तुत गरिएको थियो ।

प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो । त्यसअघि उहाँले उक्त विधेयक पारितका लागि प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशभा सदस्य दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिनुभएको थियो ।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको समयको अभावका कारण यस हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताउनुभयो । उहाँले सुशासन, पारिदर्शिता, भ्रष्टचार नियन्त्रण र मितव्ययीता कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको अधिकार स्थापित गर्न सबै पक्षबीच एक्वेबद्धताको खाँचो रहेको धारणा राख्नुभयो ।

बैठकको शुन्य समयमा प्रदेशसभा सदस्य कल्पना तिवारी, डिल्लीराम सुवेदी, फणिन्द्र देवकोटा, भक्तबहादुर कुँवर, लिलबहादुर थापामगर र श्यामराजा महतले समसामयिक विषयमा भनाइ राख्नुभएको थियो ।